काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजना अन्तर्गत ट्याङ्की रहेको क्षेत्रका स्थानीयवासीले समेत खानेपानी नपाएको भन्दै सरकार र सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकामा मेलम्ची खानेपानीका दुई ठूला ट्याङ्की भए पनि वडा नं. १ देखि ९ सम्मका बासिन्दा नियमित खानेपानीबाट वञ्चित रहेको बताए।

उनले मेलम्चीको मुहान क्षेत्र सुन्दरीजल तथा ट्याङ्की रहेको गोकर्णेश्वरका स्थानीयले खानेपानी उपभोग गर्न नपाउनुमा खानेपानी वितरण प्रणालीमा संलग्न कर्मचारी र प्राविधिकहरूको मिलेमतो तथा लापरबाही जिम्मेवार रहेको आरोप लगाए। कर्मचारीहरूले केही क्षेत्रमा मनपरी ढंगले पानी वितरण गर्ने र केही क्षेत्रमा नछोड्ने प्रवृत्ति रहेको उनको भनाइ थियो।

सांसद पाण्डेले आफूले पनि खानेपानी जडानका क्रममा कर्मचारीको गैरजिम्मेवार व्यवहार भोगेको उल्लेख गर्दै सर्वसाधारणको अवस्था अझ कष्टकर रहेको बताए। स्थानीयको समस्या तत्काल समाधान नभए आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै उनले गोकर्णेश्वरका बासिन्दाले पानी नपाए पानी आपूर्तिमा अवरोध गर्नेसम्मका कदम चाल्नुपर्ने अवस्था आउने बताए।

आरुबारी क्षेत्रमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्द भई नयाँ प्रक्रिया अघि बढिरहेको तथा दोस्रो चरणको पाइपलाइन विस्तारमा भएको ढिलाइका कारण स्थानीय थप समस्यामा परेको उनको भनाइ थियो। उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) तथा आयोजनामा कार्यरत इन्जिनियर र कर्मचारीलाई कार्यशैली सुधार्न आग्रह गरे।

कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण जनतामा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै सांसद पाण्डेले सम्बन्धित निकायलाई तत्काल स्थलगत अनुगमन गरी समस्या समाधान गर्न माग गरे।