काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल वाम एकताको सम्भावना नरहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सल्लाहकार परिषद्का सदस्यहरूसँगको सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष ओलीले वामपन्थी शक्तिहरूबीच एकताको चर्चा भइरहे पनि अहिलेका लागि पार्टी एकता सम्भव नरहेको बताए। उनले एमालेमा आउन चाहने सबैका लागि पार्टीको ढोका खुला रहेको उल्लेख गरे।

एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन अभियानअन्तर्गत यसअघि प्रदेश तथा विभिन्न मातहतका कमिटीबाट सुझाव लिइसकेको छ। सोही अभियानको अन्तिम चरणस्वरूप मंगलबार सल्लाहकार परिषद्का सदस्यहरूसँग सुझाव सङ्कलन गरिएको हो।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति टिप्पणी गर्दै उनी प्रधानमन्त्री  बालेन्द्र शाहको "भक्तिगान" मा लागेको आरोप लगाए। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले सुझाव सङ्कलनको काम गरिरहेको छ।