काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा हाल विद्युत् उत्पादन आन्तरिक मागभन्दा बढी रहेको बताएका छन्। उनले समस्या उत्पादनमा नभई पुराना प्रसारण तथा वितरण संरचनामा रहेको भन्दै त्यसको आधुनिकीकरणका लागि ठूलो लगानी आवश्यक रहेको बताए।

मंगलबार राष्ट्रियसभामा विनियोजन विधेयकसम्बन्धी छलफलमा बोल्दै मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति सुधारका लागि प्रसारण लाइन, सबस्टेसन र वितरण प्रणाली विस्तारलाई प्राथमिकता दिइएको जानकारी दिए। आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

ऊर्जा मन्त्रालयका लागि आगामी आवमा १ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ। आगामी वर्ष जलविद्युतबाट ६७० मेगावाट र सौर्य ऊर्जाबाट ३७० मेगावाट थप गरी राष्ट्रिय प्रसारण प्रणालीको क्षमता ५ हजार ५३५ मेगावाट पुर्‍याउने लक्ष्य रहेको छ।

मन्त्री श्रेष्ठले आगामी १० वर्षमा विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताए। साथै, तराई–मधेसमा भूमिगत जल सिँचाइ विस्तार, नदी नियन्त्रण, सिँचाइ आयोजना र जलवायु अनुकूलनका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको जानकारी दिए।