काठमाडौं - धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमारास्थित पृथ्वी राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बस रोकी चेक–जाँच गरेको थियो ।

जाँचका क्रममा बसमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–३ निवासी ४१ वर्षीय मोहनप्रसाद कुर्मी र सोही स्थानकी ३५ वर्षीया प्रतिमा देवीको साथमा रहेको सुटकेसभित्रबाट ७ हजार ८४० वटा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङको पृथ्वी राजमार्ग हुँदै हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा सवारीसाधनमा चेकजाँच गर्दै आएको छ । सोही अभियानअन्तर्गत विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।