काठमाडौं - सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सङ्कलित रकमको एक रुपैयाँ पनि दुरुपयोग नहुने बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफदिँदै मन्त्री तिमिल्सिनाले विनियोजित बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्र खर्च हुने र मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बनाए ।
सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको उनले बताए । उनले चालु आर्थिक वर्षमा केन्द्रले हालसम्म २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरी सम्बन्धित निकायलाई उपलब्ध गराइसकेको जानकारी दिए ।
उनले सञ्चार क्षेत्रको प्राविधिक पूर्वाधार सुदृढीकरण गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको धारणा राखे।
सञ्चार पूर्वाधारमा गरिने लगानीले दीर्घकालमा राजस्व अभिवृद्धि, प्राविधिक क्षमता विस्तार तथा राष्ट्रिय सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ छ ।


0 comment