काठमाडौं - मध्यपूर्वको तनाव बिस्तारै कम हुँदै गएपछि पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले तेलको उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ ।

साउदी अरब र रुससहित सात प्रमुख सदस्य राष्ट्रहरूले आगामी अगस्ट महिनाको उत्पादन परिमाणबारे भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । स्विस बैंक ‘यूबीएस’ का वस्तु (कमोडिटी) विश्लेषक जियोभानी स्टोनोभोका अनुसार ओपेक प्लसले अघिल्ला महिनाहरूमा गरिएको उत्पादन कटौतीलाई क्रमशः फिर्ता गर्दै दैनिक करिब १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउन सक्ने देखिएको छ ।

मध्यपूर्वको द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’ मा सिर्जित अवरोधले विश्व बजारमा तेलको आपूर्ति प्रभावित बनाएको थियो । तर, हालै इरान र अमेरिकाबीच भएको समझदारीपछि समुद्री मार्गमा आवागमन सहज भएको छ । आपूर्ति प्रणाली सामान्य बन्दै गएपछि तेलको मूल्य युद्धपूर्वको अवस्थामा फर्किएको छ भने दैनिक आपूर्ति पनि पुनः बढ्न थालेको छ ।