काठमाडौं - कोलम्बियाले शुक्रबार घानालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। जितसँगै कोलम्बियाले अब अन्तिम १६ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
कोलम्बियाका जोन आरियासले खेलको १४औँ मिनेटमा निर्णायक गोल गरे। चोटग्रस्त जोन कोर्डोबाको स्थानमा मैदान प्रवेश गरेका लुइस सुवारेजको क्रसमा आरियासले नजिकैबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ५६औँ मिनेटमा लुइस डियाजले अर्को गोल गरे पनि अफसाइड ठहर भएपछि उक्त गोलले मान्यता पाएन।
पूरै खेलमा कोलम्बियाले अधिकांश समय दबाब बनाएर खेलेको थियो। घानाका गोलरक्षक लरेन्स अटी जिगीले तीन उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप गोल खानबाट जोगाएका थिए।
अब दक्षिण अमेरिकी टोली कोलम्बियाले मंगलबार भ्यानकुभरमा हुने अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डको सामना गर्नेछ।


0 comment