काठमाडौं - नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्र देखिएको विवाद समाधानमा वर्तमान नेतृत्व गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले संवादभन्दा प्रचारमा बढी जोड दिएको टिप्पणी गरे।
शुक्रबार पार्टीको संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कांग्रेसको १५औँ महाधिवेशनमा सबै पक्षलाई सहभागी गराउने विषय नेतृत्वकै इच्छाशक्तिमा निर्भर रहेको बताए।
"अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वकै हातमा सबै कुरा छ," उनले भने, "उहाँहरू चटकेजस्तै हुनुहुन्छ। रत्नपार्कमा खराब औषधि बेच्ने चटकेले जसरी अनेक कुरा गर्छन्, अहिलेको नेतृत्वको व्यवहार पनि त्यस्तै देखिएको छ।"
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मातर्फ संकेत गर्दै बस्नेतले नेताहरूसँग प्रत्यक्ष संवाद नगरी बाहिर आफूअनुकूल प्रचार गरिएको आरोप लगाए।
बस्नेतका अनुसार लामो समयदेखि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि गगन थापा र विश्वप्रकाश शर्माबीच कुनै औपचारिक भेटवार्ता भएको छैन।
उनले पार्टीभित्रको विवाद संवाद र सहमतिबाट मात्रै समाधान हुन सक्ने भन्दै नेतृत्वलाई छलफलको वातावरण बनाउन आग्रह गरे।
यसैबीच, संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै बस्नेतले भेलाको मिति तय गर्ने विषयमा आन्तरिक छलफल जारी रहेको बताए।


0 comment