काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालको शिक्षा क्षेत्रमा अहिलेको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्।
शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक विषय भएको उल्लेख गर्दै विद्यालयदेखि शिक्षा प्रशासनसम्म दलीयकरणको प्रभाव बढ्दै गएको बताए।
उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक नियुक्तिमा योग्यता र क्षमता भन्दा पनि ‘आफ्नो मान्छे’ राख्नुपर्ने सोच गाउँ–गाउँसम्म फैलिएको भन्दै यसले शिक्षा प्रणालीलाई कमजोर बनाएको धारणा राखे।
थापाले शिक्षा क्षेत्रमा योग्य र सक्षम व्यक्तिलाई अवसर दिने संस्कार विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै आफ्ना कार्यकर्ता भर्ती गर्ने प्रवृत्तिबाट बाहिर निस्कन सबै पक्ष तयार हुनुपर्ने बताए।
उनले शिक्षकहरूले विद्यालयमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुका साथै समुन्नत नेपाल निर्माणमा अझ सक्रिय र प्रभावकारी योगदान दिनुपर्नेमा पनि जोड दिए।


0 comment