काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गरेका छन्।
दार्चुलाको दुर्गम क्षेत्र दुम्लिङमा निर्माण सम्पन्न झोलुंगे पुलको उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएका साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले प्रयास गरे पनि त्यसको परिणाम जनताले अनुभूति गर्न नसकेको बताए।
"कोशिस उनीहरूले गरेका हुन्। तर त्यसको परिणाम जनताले त्यति महसुस गर्न सकेका छैनन्," उनले भने।
साम्पाङले बढ्दो महँगीलाई सरकारको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि आफ्नो पार्टीले पटक–पटक सुझाव दिँदै आएको भए पनि प्रभावकारी कदम चाल्न नसकिएको बताए।
"महँगी धेरै बढेको छ। त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो सल्लाह र सुझाव थियो," उनले भने। "सरकारले सय दिनमा गरेका कामको जनताले महसुस गरेजस्तो अनुभूति मलाई भएको छैन।"
दार्चुलाको विकास निर्माणमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै साम्पाङले दुर्गम क्षेत्रमा पूर्वाधार विस्तारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
श्रम संस्कृति पार्टीको टोलीले दार्चुलाको दुम्लिङमा निर्माण गरेको झोलुंगे पुलको उद्घाटन साम्पाङले बिहीबार गरेका थिए।


0 comment