काठमाडौं - मेलम्ची नदीको मुहानमा आएको बाढीले अस्थायी ड्याममा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा हुँदै आएको मेलम्चीको पानी वितरण बिहीबार रातिदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
बाढीका कारण पानी धमिलो भएपछि सुरुङमा पानी पठाउन बन्द गरिएको हो। यसअघि वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गरिँदै आएको रिबर्मा खोलाको पानी पनि धमिलो भएपछि सुरुङमा पठाउन रोकिएको छ। आयोजनाका अधिकारीहरूका अनुसार हाल बाढीको बहाव नघटेकाले तत्काल पानी पठाउने सम्भावना कम छ।
०७८ असारको ठूलो बाढीपछि स्थायी संरचना नबन्दा बर्सेनि बर्खायाममा मेलम्चीको पानी बन्द हुँदै आएको छ। हाल मुहानको अवस्था र आगामी कदमबारे छलफल भइरहेको छ। मेलम्चीको पानी बन्द हुँदा उपत्यकाको खानेपानी वितरण प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।


0 comment