काठमाडौं - नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भारतको बेंगलोरमा नेपाली नागरिक विजयराज भट्टको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दक्षिण भारतमा रहेका नेपालीहरूको सुरक्षाका लागि बेंगलोरमा नेपाल सरकारको महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद महरले बझाङको केदारस्युँ गाउँपालिका–४ का भट्टको बेंगलोरस्थित चन्द्रापुर अपार्टमेन्टमा काम गर्ने क्रममा कुटपिटबाट मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।
उनले दक्षिण भारतका विभिन्न राज्यमा करिब २० लाखभन्दा बढी नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी र पेसाकर्मीका रूपमा बसोबास गरिरहेको उल्लेख गर्दै नागरिकता, राहदानी, श्रम, कानुनी सहायता, उद्धार तथा दुर्घटना व्यवस्थापनजस्ता सेवा सहज बनाउन बेंगलोरमा नेपाली नियोग स्थापना आवश्यक भएको बताए।
सांसद महरले जहाँ नेपाली नागरिक छन्, त्यहाँ राज्यको उपस्थिति सुनिश्चित हुनुपर्ने भन्दै बेंगलोरमा नेपाली नियोग स्थापनाका लागि आवश्यक कूटनीतिक, प्रशासनिक र नीतिगत पहल तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे।


0 comment