काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान गर्न समस्या भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलहरूबाट प्राप्त रिपोर्टहरू अनुसार उडान सञ्चालन हुन नसक्नुको मुख्य कारण यात्रु संख्याकै अभाव देखिने गरेको बताए।

देशमा जम्मा ५५ वटा विमानस्थलहरू रहेकोमा  ३४ वटा विमानस्थलहरू सञ्चालन योग्य अवस्थामा र २१ वटा विमानस्थल हाल बन्द अवस्थामा रहेको उनले बताए ।

मन्त्री पौडेलले कालीकोटको सुनथराली विमानस्थल लगाएत अन्य पहाडी क्षेत्रका बिमानस्थलमा नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा आवश्यक पर्ने प्राविधिक जनशक्ति , सञ्चार उपकरण लगायतका अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

उनले नागरिक उड्ययन प्राधिकरणसँग प्राविधिक जनशक्ति र उपकरणको कुनै कमी नरहेको तर उडान नै नभएको ठाउँमा जनशक्ति राख्नुभन्दा हाल उडान भइरहेका अन्य विमानस्थलहरूमा परिचालन गरिएको स्पष्ट पारे।