काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता नभएको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए । उनले प्राकृतिक स्रोत र त्यसको उपयोगका सम्बन्धमा नेपालको संविधानमा उल्लेख व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए । 

त्यस्तै मन्त्री खनालले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने गरी कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारे। उनले नेपाल र भारत बीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा सीमा सम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताए ।

उनले वर्तमान सरकारले राष्ट्रिय हित र मुलुकको छवि प्रवद्र्धनमा केन्द्रित रहेको र परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । परराष्ट्र सम्बन्ध सञ्चालनको विषय संवेदनशील भएकाले यस विषयमा सबैको दायित्व, योगदान र भूमिका रहने उनको भनाइ छ ।