काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सामाजिक संरचनालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने बताएकी छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको बहससँगै बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति आफ्नो असहमति व्यक्त गरिन्।
उनले नेपालजस्तो विविधतायुक्त मुलुकमा संसदीय लोकतान्त्रिक प्रणाली नै उपयुक्त हुने उल्लेख गर्दै आवधिक निर्वाचनमार्फत जनादेश प्राप्त गर्नु मात्र लोकतन्त्रको पर्याप्त आधार नहुने धारणा राखिन्। निर्वाचित भएपछि पनि लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने उनको भनाइ थियो।
भण्डारीले भनिन्, “संविधान संशोधनको सन्दर्भमा बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ। हामी आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं। तर जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो।”
उनले लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धताले नै कुनै पनि शासन प्रणालीको सफलताको आधार तय गर्नेमा जोड दिइन्।
यसै क्रममा पूर्वराष्ट्रपति भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन आत्मसमीक्षा र रचनात्मक पुनरावलोकन अपरिहार्य रहेको बताइन्।
उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई थप प्रभावकारी बनाउने अवसर प्रदान गरेको उल्लेख गर्दै त्यस सन्देशलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने धारणा राखिन्।
भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्य वा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकताबारे हतारमा निष्कर्ष निकाल्नु उचित नहुने बताइन्।
उनले भनिन्, “हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ। कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।”
भण्डारीले आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन तथा जनतासँगको जीवन्त सम्बन्धमार्फत कम्युनिस्ट आन्दोलनले आफ्नो सान्दर्भिकता र प्रभावकारितालाई अझ सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गरिन्।


0 comment