काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले नागरिकलाई मात्र होइन, राज्यलाई पनि कानुनी रूपमा समान रूपमा जिम्मेवार र जवाफदेही बनाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकमाथि कडा कानुनी व्यवस्था लागू गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै राज्यका निकायले आफ्नो दायित्व पूरा नगर्दा पनि उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे।
उनले नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा जरिवाना तिर्नुपर्ने व्यवस्था उचित भए पनि सडकको जीर्ण अवस्था, खाल्डाखुल्डी, सडक बत्ती नबल्ने तथा राज्यको लापरबाहीका कारण नागरिकले दुःख पाउँदा सम्बन्धित निकाय पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए। "नागरिकलाई ट्राफिक नियम लागू गरेजस्तै राज्यलाई पनि जिम्मेवार बनाउने कानुन आवश्यक छ," उनले भने।
शाहीले राज्यको लापरबाहीका कारण सडक दुर्घटना भएमा सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनीलाई कानुनी कारबाही गर्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिए। "नागरिकले गल्ती गर्दा जरिवाना तिर्ने, तर राज्यले गल्ती गर्दा कुनै जिम्मेवारी नहुने अवस्था अन्त्य हुनुपर्छ," उनले भने।
कानुन नागरिक र सरकार दुवैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई जवाफदेही बनाउने कानुन ल्याउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको ध्यानाकर्षण गराए।


0 comment