काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने प्रस्तावप्रति असहमति जनाएका छन्।

रास्वपाले चितवनमा सम्पन्न आफ्नो पहिलो महाधिवेशनबाट प्रदेश खारेजीको विषयलाई औपचारिक रूपमा पार्टी दस्तावेजमा समावेश गरेपछि प्रतिक्रिया दिँदै दुलालले रास्वपाले प्राप्त गरेको जनमत सङ्घीयता खारेज गर्नका लागि नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउनका लागि भएको बताएका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले प्रदेश संरचनाविनाको सङ्घीयता सम्भव नहुने उल्लेख गर्दै रास्वपालाई सङ्घीय व्यवस्थाको आधारभूत सिद्धान्त बुझ्न आग्रह गरे। "यदि प्रदेशको उपस्थितिविना सङ्घीयता रहँदैन भन्ने राजनीतिको आधारभूत ज्ञान छैन भने राजनीति पढेर आउन सुझाव दिन्छु," दुलालले भने।

दुलालले निर्वाचनका क्रममा रास्वपाले प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने प्रतिबद्धता जनाएर मत मागेको स्मरण गराउँदै अहिले प्रदेश खारेजीको नीति पारित गर्नु जनताप्रतिको बेइमानी र विश्वासघात भएको आरोप लगाए।

"निर्वाचनका बेला मधेश, सुदूरपश्चिम, कर्णालीलगायत विकासमा पछाडि परेका प्रदेशमा पुगेर प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने वाचा गर्ने, तर मत पाएपछि तिनै संरचना खारेज गर्ने नीति पारित गर्नु जनताप्रतिको धोका हो," उनले भने।

दुलालका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले समेत निर्वाचन अभियानका क्रममा मधेशमा आयोजित पार्टी कार्यक्रममा प्रदेशलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले अहिले प्रदेश खारेजीको प्रस्ताव ल्याइनुलाई निर्वाचनअघि सुकुम्बासी बस्तीमा डोजर नचलाउने आश्वासन दिएर पछि डोजर चलाइएको घटनासँग तुलना गर्दै यसले जनविश्वासमा आघात पुर्‍याएको टिप्पणी गरे।