काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकमा कम्युनिस्ट शक्तिहरूबीच पुनः एकता र सहकार्यको प्रक्रिया अघि बढिरहेको बताएका छन्। उनले नेकपा र नेकपा एमालेबीच संसद्, सडक र स्थानीय तहमा सहकार्यका विषयमा छलफल भइरहेको जानकारी दिँदै तत्काल पार्टी एकता भने नहुने स्पष्ट पारे।

शुक्रबार विराटनगरमा आयोजित नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले वामपन्थी शक्तिहरूबीचको एकताले वैकल्पिक राजनीतिक शक्तिको आधार तयार हुने विश्वास व्यक्त गरे। "वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुन्छ, देशको नेतृत्व फेरि पनि कम्युनिस्ट शक्तिले नै गर्न सक्छ," उनले भने।

दाहालले असाधारण राजनीतिक परिस्थितिपछि कम्युनिस्ट शक्तिहरू पुनः एकताबद्ध हुन थालेको उल्लेख गर्दै १० वाम घटकको सहभागितामा नेकपा गठन गरिएको स्मरण गरे। उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठनले जनतामा नयाँ आशा जागेको दाबी गरे।

उनले पछिल्लो प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र स्वाभाविक ढंगले नभएको आरोप लगाउँदै विशेषगरी तराई–मधेस क्षेत्रमा चुनावी चलखेल भएको दाबी गरे। "चिन्दै नचिनेका मानिसले जित्ने र स्थापित उम्मेदवारले हार्ने अवस्था सामान्य होइन," उनले भने, "निर्वाचनमा विभिन्न शक्तिको प्रभाव देखिएको छ, जसका तथ्य क्रमशः सार्वजनिक हुँदै जानेछन्।"

दाहालले नेपालमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभामार्फत हासिल भएका राजनीतिक उपलब्धिप्रति केही अन्तर्राष्ट्रिय शक्ति सन्तुष्ट नरहेको दाबी गरे। संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाविरुद्ध दीर्घकालीन रणनीति बनाइएको उल्लेख गर्दै उनले कम्युनिस्ट आन्दोलनले रणनीतिक रूपमा कमजोरी गरेको स्वीकार गरे।

वर्तमान सरकारले विपन्न, दलित, महिला तथा सुकुमवासी समुदायका पक्षमा अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई "नवउदारवादी फासिस्ट प्रवृत्तिको पार्टी" भएको टिप्पणी गरे। उनले समावेशी समानुपातिक निर्वाचन प्रणाली र संघीय व्यवस्थामाथि चुनौती बढ्दै गएको समेत दाबी गरे।

कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले सक्षम र योग्य युवालाई नेतृत्वमा अघि आउन आह्वान गरे।

दाहालले आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग पनि सहकार्य र मोर्चाबन्दी गर्न सकिने संकेत गर्दै नेपाली कांग्रेससँग समेत परिस्थितिअनुसार सहकार्यको सम्भावना रहेको बताए।