काठमाडौं - कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए । प्रदर्शनमा सहभागीहरुले १२ बर्षको मेहनत खेर जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याया खोज्न कहाँ जाँउ ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफूहरुलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् । विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनः परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन् ।
कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको उनीहरुले जनाएका छन् । विद्यार्थीहरुले मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारिसकेको छ ।


0 comment