काठमाडौं - उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–तिव्वत सीमास्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बोर्डर आउटपोस्ट (बिओपी) का सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयबासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नंबर सीमास्तम्भको अवलोकन, निरीक्षण गरेको हो ।

‘बिओपीका टिम लिडर इन्स्पेक्टर आकास सूचीकारको नेतृत्वमा १० जना टोली, सामागाउँ प्रहरी चौकीका दुई जना प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयबासीको टोली गएका थिए’, सशस्त्र प्रहरी गोरखा गुल्मका प्रमुख डीएसपी ढलप्रसाद काफ्लेले भने, ‘यो हाम्रो लङ रुट पेट्रोलिङ कार्यक्रम अन्तर्गत हो । यस क्रममा कुनै त्यस्तै उल्लेख्य कुराहरु भेटिएनन् । सबै सामान्य नै पाइयो ।’ प्रत्येक महिना, दुई महिनामा यस्ता एलआरपी हुने गरेको छ ।

साम्दो बिओपीले ३४ नम्बर पिलर रहेको ग्याला नाका, ३५ नम्बर पिलर रहेको रुइला नाका र ३६ पिलर रहेको लाजुन नाका क्षेत्रको सुरक्षा गर्दै आएको उनले बताए । ३८ नम्बर र ३९ नम्बर पिलर रहेको छेक्या र बाजु क्षेत्रको सुरक्षार्थ राख्ने भनिएको बिओपी भने अहिलेसम्म स्थापना गरिएको छैन । दुई पक्षीय विविध विषयमा छलफल गर्न बिगत दुई बर्षदेखि सीमा बैठक पनि नभएको स्थानीयको भनाइ छ ।