काठमाडौं - काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई विस्तार गर्ने योजना बनाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वचालित निगरानी प्रणालीको विकास गर्दै सुरु गरिएको फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई योजनाबद्ध ढंगले अघि बढाउने जनाएको हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना सिसिटिभी र प्रविधिको प्रयोग गरी ट्राफिक नियमको अनुगमन र कारबाही गर्न सकिने गरि फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली सुरु गरिएको बताए।

उनले स्वचालित निगरानी प्रणालीअनुसार विश्वसनीय र भरपर्दो तरिकाले सेवा प्रवाह हुने उल्लेख गरे । त्यस्तै सुवेदीले जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ भन्ने नाराका साथ असार १ गतेदेखि काठमाडौं उपत्यकामा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरिरहेको जानकारी दिए ।

सडकमा कानूनको कार्यान्वयन गर्दै दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण जिम्मेवारी भएकाले सडक अनुशासनमा जोड दिइएको उनले बताए । सुवेदीले सहज सवारी आवागमनलाई व्यवस्थित गर्नका लागि उपत्यकामा मात्रै १६ सयको संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको उल्लेख गरे ।

उनले स्रोतसाधन, जनशक्तिको अधिकतम परिचालन गरेर सडक व्यवस्थापनमा लाग्दा समेत नागरिकले कल्पना गरेजस्तो व्यवस्थापन हुन नसकिरहेको अवस्था रहेको बताए।

सडकको पूर्वाधारको विकासको अनुपातमा सवारी साधनको संख्या बढिरहेका कारण ट्राफिक व्यवस्थापनमा केही समस्या देखिएको उनको भनाइ छ ।

उनले अहिले देखिएका चुनौतीहरूलाई सामना गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउने संकल्पका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अगाडि बढिरहेको धारणा राखे।