काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत बन्दसत्र प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको छ।

सोमबार बिहान ८:३० बजे सुरु हुने तय गरिएको बन्दसत्र महाधिवेशन प्रतिनिधिको नामावलीमा देखिएको त्रुटि र विवाद समाधान नभएपछि सारिएको हो। निर्वाचन प्रमुख भुवन केसीले बन्दसत्र मंगलबार बिहानदेखि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार सोमबार प्रतिनिधिहरूलाई कार्ड वितरण गर्ने कार्य सम्पन्न गरिनेछ।

महाधिवेशन प्रतिनिधिको सूचीमा केही सांसद तथा केन्द्रीय सदस्यहरूको नाम छुटेको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो। रास्वपाका एक नेताका अनुसार १० जनाभन्दा बढी सांसद र केन्द्रीय नेताको नाम छुटेको फेला परेपछि सम्बन्धित प्रतिनिधिहरूलाई समेट्ने गरी बन्दसत्रको कार्यतालिका परिमार्जन गरिएको हो। 

जिल्लास्तरका केही नेताहरूको नामसमेत छुटेको बताइएको छ। महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन र भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।