काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्ने भएपछि पार्टी स्थापनाकालदेखि सक्रिय रहेका केही नेताहरू असन्तुष्ट बनेका छन्।

पार्टीको असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेकोमा समायोजनमार्फत पार्टीमा आएका नेताहरूको असहमति र विरोधपछि उक्त निर्णयबाट पार्टी पछि हटेको एक संस्थापक सदस्यले बताएका छन्।

ती नेताका अनुसार समायोजनमा आएका ५१ जनालाई केन्द्रीय संरचनामा समेट्ने प्रक्रिया अघि बढाइँदा संस्थापक सदस्यहरूलाई पनि सोही आधारमा समावेश गरिनुपर्ने माग गरिएको छ।  संस्थापक सदस्यहरूको भूमिकाबारे देखिएको असन्तुष्टिले महाधिवेशनको राजनीतिक बहसलाई थप चासोको विषय बनाएको छ।