काठमाडौं - सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे। 

नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए । राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

राज्यले आफूहरुलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।