काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस र रास्वपा राजनीतिक प्रतिष्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको चितवनको भरतपुरमा आयोजित उद्घाटन सत्रमा बोल्दै उनले रास्वपाले प्राप्त गरेको जनमत र लोकप्रियता देखेर आफूलाई “लोभ लागेको” उल्लेख गर्दै कांग्रेसलाई रास्वपाभन्दा अझ अग्लो राजनीतिक शक्ति बनाउने दाबी गरे।

उनले भने, “नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइन। हामी प्रतिष्पर्धा गर्ने हो। हामी अग्लो हुनु चाहन्छौँ। तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ। तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ।’

सभापति थापाले अरू राजनीतिक दललाई कमजोर बनाएर होइन, आफ्नै संगठन र कार्यशैली सुधार गरेर कांग्रेसले राजनीतिक उचाइ हासिल गर्ने बताए। उनले कांग्रेसभित्र रहेका कमजोरी र विकृतिलाई हटाउँदै स्वच्छ राजनीति गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

“हामी सफा हुन चाहन्छौँ तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नै पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ,” उनले भने।

संसदमा प्रतिष्पर्धी दलको भूमिकामा रहेको कांग्रेसले आवश्यकताअनुसार सरकारसँग सहकार्य र आलोचना दुवै गर्ने उनको भनाइ थियो। “जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ। जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ,” उनले भने। 
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू शुभकामना दिन पुगेका थिए।