काठमाडौं - प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्तिको दोहन तथा विगतका अनियमितताबारे छानबिन गर्दा आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लामो समयसम्म पनि परामर्श गर्न सकिने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आवश्यक परे ५ घण्टा मात्रै होइन अख्तियारलाई ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए ।
प्रधानमन्त्री शाहले आफ्नो दल विकास र काममा केन्द्रित रहेको दाबी गर्दै प्रतिशोधको राजनीतिमा विश्वास नगर्ने बताए। उनका अनुसार पुराना विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गर्नु पार्टीको उद्देश्य नभई सुशासन र विकासलाई प्राथमिकता दिनु नै मुख्य लक्ष्य हो।
हालै अख्तियार प्रमुखसहित संवैधानिक निकायका पदाधिकारीलाई बन्द कोठामा राखेर कारबाहीका लागि दबाब दिएको भन्ने आरोपबारे संसद्मा विपक्षी दलका सांसदहरूले चर्को विरोध जनाइरहेका बेला शाहले आफ्नो भनाइ स्पष्ट पारेका हुन्।
उनले कानुनी प्रक्रियाअनुसार आवश्यक परामर्श र अनुसन्धान हुनु स्वाभाविक रहेको उल्लेख गर्दै सरकार कुनै पनि अवस्थामा नियम र कानुनभन्दा बाहिर नजाने बताएका छन्।


0 comment