काठमाडौं - दार्चुलाको सम्पाल माध्यमिक विद्यालय, सुन्सेराका प्रधानाध्यापक बलदेब धामीको आत्महत्या प्रकरणलाई लिएर दार्चुला सदरमुकाम खलंगा आन्दोलित बनेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित पक्ष तथा स्थानीय सर्वसाधारण विगत तीन दिनदेखि निरन्तर धर्नामा बसेका छन्।
गत जेठ ४ गते सामाजिक सञ्जाल फेसबुकमा एक सुसाइड नोट सार्वजनिक गर्दै प्रधानाध्यापक धामीले आत्महत्या गरेका थिए। उक्त आत्मघाती कदम पछाडिका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन सुरु भएको हो।
पीडित पक्षले घटनामा संलग्न दोषीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन, धरौटीमा रिहा नगर्न तथा निष्पक्ष र प्रभावकारी न्याय सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलनलाई सशक्त बनाएका छन्।
आन्दोलनकै क्रममा आज सयौँको संख्यामा उपस्थित सर्वसाधारणले जिल्ला अदालत दार्चुला घेराउ गरेका छन्। आन्दोलनकारीहरूले घटनाको गम्भीरतापूर्वक र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकाय र प्रशासनसँग जोडदार माग गरेका छन्। दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत पीडित पक्षले दिएको छ।


0 comment