काठमाडौं - नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले ‘हामी विधिको शासन चलाउँदै छौं कि सिंहदरबारबाट कुनै अदृष्य गिरोहको हुकुमी राज जन्माउँदैछौं’ भन्दै संसदमा प्रश्न गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शुरुमै बोल्दै सांसद बुढाले प्रधानमन्त्री कार्यालयले मानवअधिकार आयोगका पदाधिकारीलाई नौं घण्टा दवावमा राखेको विशेष व्यक्ति पक्राउका लागि दवाव दिएको भन्ने समाचार सार्वजनिक भएको बताएका छन् । उनले अख्तियारका पदाधिकारी मात्र नभई एक जना विदेशी राजदूतलाई समेत प्रधानमन्त्री कार्यालयमा दुव्र्यवहार भएको भन्ने आरोप सार्वजनिक भएको बताएका छन् । सांसद बुढाले अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर भ्रष्टाचारका मुद्दाहरुमा छानविन गर्नुपर्ने बताए ।
कानुन भन्दा कोही माथि नहुने बताउँदै सांसद बुढाले लाकतान्त्रिक व्यवस्थामा परिणाम मात्र हेरेर नहुने यसको विधि र प्रक्रियालाई समेत पालना गर्नुपर्ने उनले बताए । उनले अहिले लोकतन्त्र, प्रक्रिया र विधिमा विश्वास गर्नेहरु अहिले सरकारको स्वेच्छाचारिता देखेर छक्क परिरहेको बताए । उनले अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको संवैधानिक निकाय नभएको कुरा प्रधानमन्त्रीले बुझ्नु भएको छ कि छैन भन्दै सांसद बुढाले प्रश्न गरेका छन्।


0 comment