काठमाडौं - पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो वर्ष केही आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताए । उनले पहिलो वर्षमा आयोजनाहरुमा छुट्टाइएको बजेट कम भए रकमान्तर गरेर भएपनि पूर्ति गरिने उल्लेख गरे।
मन्त्री लम्सालले मन्त्रालयको बजेट करिव ३ खर्बको रहेपनि आगामी आर्थिक बर्षमा १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको बताए । उनले संघीय सरकारको क्षेत्रमा पर्ने सडक निर्माणका लागि प्रयाप्त बजेट विनियोजन भएको र सांसदहरुको मागका आधारमा सबै क्षेत्रलाई प्राथमिकता राखेको धारणा राखे । काम नगर्ने ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्तिप्रति मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउने प्रयास मात्रै आफूले गरेको र कसैलाई दु:ख दिने आशय नभएको स्पष्ट पारे ।
उनले ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा ठेक्का रद्द गर्नुपर्ने र यसका कारण समय र स्रोत समेत खेर जाने अवस्था आउनसक्ने भएकाले सचेत गराएको बताए ।


0 comment