काठमाडौं - श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले देशको माटो बचाउने कुरामा सत्ता र प्रतिपक्ष भन्ने नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिका बारेमा संसदमा आएर जवाफ दिनै पर्ने बताएका छन् ।

उनले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका राजनीतिक घटना क्रम र राजनीतिक आन्दोलनहरुलाई कसरी हेरेको छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०५२ सालको जनयुद्ध, २०६२–६३ को जनआन्दोलन र भर्खरै भएको जेनजी आन्दोलनलाई अहिलेको सरकारले कसरी हेरेको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले जेनजी आन्दोलनका सन्दर्भमा मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझ्दा विगतका आन्दोलनका विषयहरु पनि हेरिने जवाफ पाएको बताए । उनले गत भर्दौ २३ र २४ को जेनजी आन्दोलनको सन्दर्भ जोड्दै केहि जान्ने र बुझ्ने र आन्दोलनमा सहभागी हुनेहरु सांसद हुने, मन्त्री भएर देश चलाउनु पर्ने र त्यहि आन्दोलनमा सहभागी हुने सोझासाझा नागरिकहरु आज कारागार बस्नु पर्ने यो कस्तो दुःखलाग्दो कुरा भन्दै सरकारलाई ध्यानाकर्ष  गराएका छन् ।

विभिन्न जिल्लामा गरेर ९७३ जनालाई पक्राउ गरिएको बताउँदै सांसद राईले त्यसमध्ये केहि धरौटी, केहि सामान्य तारखेमा छुटेको बताए । उनले कानुन कार्यान्वयनको विषयमा विभेद भएको भन्दै सरकारको ध्यानाकर्ष गराएका छन् ।