काठमाडौं - विपक्षी दलका सांसदहरुले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।

बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पस्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै कांग्रेस सांसद रेखाकुमारी यादवले सीमाका बिषयमा मन्त्रीले नभइ स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरिन् ।

त्यस्तै एमालेकी सांसद टुकाभद्रा हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले रेकर्डबाट हटाउन माग गरिन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्चाउनुपर्ने र सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी राप्रपा सांसद सरस्वती लामाले नेपालको सीमाका बिषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जिम्मेवारीमा बसेकाहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिनु उचित नभएको धारणा राखे ।