काठमाडौं - प्रतिनिधिसभामा उत्पन्न अवरोध श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्न समय दिएपछि हटेको छ।

यसअघि विपक्षी दलको हैसियतमा आफूहरूलाई पनि धारणा राख्न दिनुपर्ने माग गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसदको वेल घेराउ गरेका थिए। सभामुखले बोल्ने समय नदिएको भन्दै उनीहरूले नाराबाजीसमेत गरेका थिए।

विवाद बढेपछि सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङलाई रोष्ट्रममा बोल्न समय दिएका थिए। रोष्ट्रममा उभिएर साम्पाङले सदनलाई विधि र नियमावलीअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, “यो सदनलाई विधिबाट सञ्चालन गरियोस्, मेरो अनुरोध त्यति हो।”

साम्पाङले संसद सञ्चालनका क्रममा सबै दल र सांसदलाई नियमावलीअनुसार समान अवसर दिनुपर्ने धारणा राख्दै सदनको कार्य सञ्चालन प्रक्रियालाई थप व्यवस्थित बनाउन आग्रह गरेका थिए। उनको सम्बोधनपछि बैठकको अवरोध हटेको थियो। सभामुख अर्यालले त्यसपछि बैठकको नियमित कार्यसूची अगाडि बढाएका थिए।