धनगढी:कैलाली प्रहरीले कटुवा पेस्तोलसहित विभिन्न शंकास्पद सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी घर भई हाल धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन्।

मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा खानको कोठामा खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा कटुवा पेस्तोल एक थान, खुकुरी एक थान, फलामको रड एक थान, रेन्च एक थान, डिजिटल काटा एक थान, चाँदीजस्तो देखिने माला दुई थान, फलामको ‘टी’ एक थान तथा टर्चलाइट दुई थान बरामद गरेको जनाएको छ।

बरामद गरिएका हतियार तथा सामानसहित साहिल खानलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको  छ।