काठमाडौं - नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज सिंहदरस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भने, “अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा यसमा संवेदनशील भएर लाग्ने छु, मन्त्रालय गम्भीर भएर लाग्ने छ ।”
मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने/नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरे। त्यस्तै उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्या काण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरे ।
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुष्म निगरानी गरी कारबाही गरी सुरक्षा निकायमा सेन्सेटिभ इन्फरमेसन भिजेलिन्स टिम (एसआइभीटी) गठन गर्ने उनले बताए । उनले नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र टुङ्गामा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक, सङ्गठित अपराधलगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टिकृत समूह गठन गर्ने निर्णय गरे।


0 comment