काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सीमा विवाद र बजेट चुहावट प्रकरणलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसद ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले आफ्नो विवादित वक्तव्य सच्याउनुपर्ने र इभी (EV) कर छली प्रकरणमा नैतिकतातका आधारमा अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरिन् ।

प्रधानमन्त्रीले गम्भीर राष्ट्रिय मुद्दाहरूलाई विषयान्तर गरेको आरोप लगाउँदै उनले भनिन्, "पृथ्वीनारायण शाह र वीर योद्धाहरूले एकीकरण गरेको मुलुक आज गणतन्त्रका प्रधानमन्त्रीको एउटा वक्तव्यका कारण विभाजित हुने अवस्थामा पुगेको छ।’

बीवाईडी कर छली प्रकरण

सांसद ओलीले आर्थिक विधेयकमा विद्युतीय सवारी साधन (BYD) को करको दर हेरफेर गरी नीतिगत भ्रष्टाचार गरिएको विषयमा पनि अर्थमन्त्रीको कडा आलोचना गरिन्। यो प्रकरण गम्भीर भइसकेकाले निष्पक्ष र विश्वसनीय छानबिनका लागि अर्थमन्त्री तत्काल जिम्मेवारीबाट अलग हुनुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्रीलाई विगतमा प्रतिपक्षमा रहँदा उनले नै खेलेको भूमिका ओलीले स्मरण गराइन्। "अघिल्लो सरकारको पालामा यही संसद्‍मा तपाईंले भन्नुभएको थियो— 'सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि, यो समस्या गम्भीर कुशासन, लूट र संगठित भ्रष्टाचारको हो।' आज अर्थमन्त्रीज्यू म सोध्न चाहन्छु— के तपाईं आफ्ना शब्दहरू फिर्ता लिन चाहनुहुन्छ?"