काठमाडौं - नेकपा एमालेका सांसद क्षितिज थेबेले देशको राष्ट्रियतामाथि आँच आउने अभिव्यक्ति दिने प्रधानमन्त्रीले संसद्‍मा माफी नमागेसम्म र बजेट चलखेलको चित्तबुझ्दो जवाफ नआएसम्म संसद् चल्न नदिने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्‍मा दर्ता भएको आर्थिक विधेयकमा २० लाखदेखि ३० लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय सवारी साधनहरूको भन्सार महसुल र नयाँ 'स्वच्छ पूर्वाधार लगानी शुल्क'  सम्बन्धी दरहरू गायब पारिएको बताए। 

बजेट सम्बन्धी महत्त्वपूर्ण कार्यसूचीमा छलफल सुरु हुनै लाग्दा उत्पन्न यस गतिरोधलाई अन्त्य गर्न उनले  सभामुखसमक्ष विशेष रुलिङ र सरकारको जवाफदेहिता माग गरे ।

सो गम्भीर त्रुटि सार्वजनिक भएलगत्तै अर्थ मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध गराएको आर्थिक विधेयकको डिजिटल कपी हतार-हतार 'डिलिट' गरेको थियो।

बजेट भाषणको अघिल्लो रात र जेठ १५ गतेभन्दा ठीक अगाडि चीनसँगको कोराला र रसुवागढी नाकाबाट ७७६ भन्दा बढी विद्युतीय गाडीहरू हतार-हतार भन्सार जाँचपास गराई नेपाल भित्र्याइएको विषयले चलखेललाई थप पुष्टि गरेको सांसदहरूको दाबी छ।

यसै प्रकरणमा संलग्नताको आरोपमा रसुवा भन्सारका प्रमुखसहित ६ जना कर्मचारीहरूलाई अर्थ मन्त्रालयले निलम्बन गरी विभागमार्फत उच्चस्तरीय छानबिन समिति समेत गठन गरिसकेको छ।