काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावको बेला उम्मेदवार पनि नबन्ने र उम्मेदवारलाई मत माग्न पनि नजाने मानिसहरूले पार्टी छाडेर जाँदा दु:ख मान्न नहुने बताए ।
शुक्रबार राप्रपाको गोरखा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले ‘ऐँजेरु’ आफैँ झरेर गएको भन्दै अब राप्रपा पार्टी बन्ने बाटो खुला भएको बताएका छन् ।
उनले भने,‘जसले ऐँजेरुका रुपमा काम गरिहेका थिए, खुट्टामा पलाएको ऐँजेरु जुत्ता लगाउन पनि काम नदिने, हिड्न पनि अप्ठारो हुने, काटेर फालुम जिउको मासु फ्याँकुकी नफ्याँकु भनेको बेला आफै झरेर गएको छ।’
विगतका आन्दोलनको समीक्षा गर्दै लिङ्दनेले ८७ वर्षको आराम गर्ने उमेरका व्यक्तिलाई आन्दोलनको संयोजक बनाएर अघि बढ्दा देशभर बनिरहेको माहौल पनि भताभुंग भएको बताए । नवराज सुवेदीलाई त्यतिबेला आन्दोलनको कमान्डर बनाइएको थियो ।
यसैबीच अध्यक्ष लिङ्देनले सरकारको प्रारम्भिक लक्षण ठिक नदेखिएको भन्दै रास्वपा नेतृत्वको सरकार पनि ५ वर्ष नटिक्ने दाबी गरे ।


0 comment