काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै अवस्थामा पार्टी अगाडी बढ्न नसक्ने भएकाले पुनर्गठन गरिने बताएका छन् ।

नेकपा एमाले संगठन विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पौडेलले अहिलेकै रूपमा र यस्तै ढङ्गले पार्टी अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठन गरिने बताएका हुन्।

उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्नकै लागि सचिवालय बैठकले कार्यदल निर्माण गरेको उनले बताए । पौडेलले कार्यदलको प्रतिवेदनमागिथ सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनसम्बन्धी आवश्यक निर्णय लिइने उल्लेख गरे ।

त्यस्तै उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको धक्कालाई क्षतिपूर्ती हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताए । उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामुहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए ।

उनले पार्टी सदस्यता प्राप्ती तथा नविकरण केवल एउटा सदस्यता मात्र नभइ राजनीति,बिचार र जिम्मेवारीको प्राप्तीको रुपमा पनि बुझ्नु पर्ने जोड दिए ।