काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्। 

नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको  कांग्रेस प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले जानकारी दिए। उनका अनुसार ९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

 कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्दै आएका थिए। मुख्यमन्त्रीले बहुमत सदस्यहरूको समर्थन रहे पद छाड्ने बताएका थिए। त्यसपछि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको थियो।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलकाे नेताबाट हटाउने निर्णय गर्ने बैठककाे अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गरेकाे पाइएकाे छ ।

रावलकाे अध्यक्षतामा बैठकले शाहलाई दलकाे नेताबाट हटाउने निर्णय गरेकाे थियो । उक्त बैठकमा ९ जना प्रदेश सभा सदस्यकाे उपस्थिति रहेकाे  थियोे ।
स्रोतका अनुसार बैठकमा प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, पदमबहादुर शाही, गिताकुमारी चाैधरी,तुलसी देवकाेटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीकाे सहभागीता थियोे ।उनीहरूकाे उपस्थितिमा बसेकाे बैठकले संसदीय दलकाे विधान बमोजिम दल नेता फेरबदल गर्न सांसदकाे संख्या पुगेकाले दल उक्त निर्णय लिइएको उल्लेख छ ।

संसदीय दलकाे विधान बमोजिम दिगाे शान्ति तथा सुव्यवस्था सुदृढ गर्न संसदीय शासन प्रणालीअनुरूप विधानकाे धारा १८ काे उपधारा २ बमोजिम पूर्ण सदस्यकाे ५० प्रतिशत गणपुरक संख्या बढि पुग्न गएकोले निर्णय लिइएको भनिएकाे छ ।  हस्ताक्षरकर्ता सांसदले कुनै हस्तक्षेप र दबाब बिना राजीखुसी दस्तखस्त गरेकाे निर्णयमा लेखिएको छ ।