काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीले संसद्‌मा सीमा विवादबारे दिएको अभिव्यक्ति राष्ट्रघाती र आत्मसमर्पणवादी भएको आरोप लगाउँदै उक्त भनाइ फिर्ता नलिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन्।

संसद्‌मा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीको आकस्मिक प्रश्नोत्तरको कार्यशैली र अभिव्यक्ति परिपक्व नभएको टिप्पणी गरे। "संसद् र कूटनीति जोसले मात्र होइन, होस, अनुभव र जिम्मेवारीबोधले चल्नुपर्छ," उनले भने, "बहुमतको मूर्ख बल र स्टन्ट शैलीका कारण हिजो राज्यले ठुलो क्षति बेहोर्नुपर्‍यो।"

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिको कडा आलोचना गर्दै दुलालले भने- "लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायत नेपालको ६० हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको तथ्य जगजाहेर छ। भारतीय सेनाले नेपाली भूमि कब्जा गरेको विषयलाई दशगजामा सर्वसाधारणले खेतीपाती गरेको विषयसँग तुलना गर्नु राष्ट्रिय आत्मसमर्पणवाद हो। नेपालले भारतको कुनै भूमि मिचेको छैन।"

सत्तारूढ दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले यस्तो तथ्यहीन अभिव्यक्ति दिनु भारतलाई उपहार दिएको त होइन भन्दै उgले संशय व्यक्त गरे । परराष्ट्र मन्त्रालयले 'क्रस बोर्डर अकुपेन्सी' भन्दै प्रधानमन्त्रीको बचाउ गर्नु झूटको अर्को रूप भएको उनको दाबी छ। पुर्खाहरूले रगत बगाएर बचाएको देशको भूमिलाई अवमूल्यन गर्ने भ्रामक अभिव्यक्ति प्रधानमन्त्रीले रोस्ट्रमबाटै फिर्ता लिएर माफी माग्नुपर्ने अडान दुलालले राखे।