काठमाडौं - नेपाली काङ्ग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसद्मा सीमा विवादबारे दिएको अभिव्यक्ति चरम अपरिपक्व र आत्मघाती भएको आरोप लगाउँदै उक्त भनाइप्रति गम्भीर आपत्ति जनाएका छन्।
संसद्मा बोल्दै सांसद राईले प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर 'नेपालले पनि भारतको जमिन मिचेको छ' भनी दिएको अभिव्यक्तिले तीन करोड नेपालीको शिर निहुरिएको बताए। उनले भने, "नेपालले कहाँ-कहाँ भारतको जग्गा मिच्यो, प्रधानमन्त्रीले रोस्ट्रममै उभिएर त्यसको एक-एक इन्चको हिसाब दिनुपर्छ।"
परराष्ट्र मन्त्रालयले 'क्रस बोर्डर अकुपेसन' भन्दै प्रधानमन्त्रीको बचाउ गर्न खोजेको प्रति व्यङ्ग्य गर्दै राईले जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ भनी प्रश्न गरे। उनले यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल पनि 'सीमा अतिक्रमणकारी' हो भन्ने गलत भाष्य स्थापित गर्ने र भारतसँगको सीमा विवादमा नेपालको बलियो दाबीलाई कमजोर बनाउने चिन्ता व्यक्त गरे।
दुई-तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले कुन स्वार्थ र सस्तो लोकप्रियताका लागि यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले आक्रोश पोखे। राष्ट्रियतामाथि कार्यकारी प्रमुखबाट भएको यो गल्ती नसच्चिएसम्म र सभामुखबाट रुलिङ नभएसम्म संसद्मा अगाडि समन्वय र सहकार्य गर्न नसकिने चेतावनी समेत नेता राईले दिए।


0 comment