काठमाडौं - प्रतिनिधिसभाको मंगलबारको बैठकमा पर्यटन विधेयकमाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत भइरहेका बेला सांसद खरेलले दिएको अभिव्यक्तिले विपक्षी दलका सांसद आक्रोशित बनेका छन्।

छलफलका क्रममा सांसद खरेलले विपक्षी दलका सांसदहरूले सदनमा ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए। उनले सरकारले अध्यादेश ल्याउनुपरेको कारण पनि संसदमा देखिएको अवरोध र गतिविधि भएको दाबी गरे।

उनले संविधान जारी भएपछि बन्नुपर्ने केही ऐन तथा कानुनहरू संसदको निरन्तर अवरोधका कारण बन्न नसकेको टिप्पणीसमेत गरे। साथै, संसदबाट कानुन निर्माण गर्ने प्रक्रियालाई कसैले रोक्न नहुने धारणा व्यक्त गरे।

सांसद खरेलको अभिव्यक्तिपछि विपक्षी सांसदहरूले विरोध जनाउँदै बैठकमा नाराबाजी गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले छलफलबीचमै बैठक स्थगित गरेका हुन्।