काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्न न्यायाधीश र कानून व्यवसायीलाई सुझाव दिएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘मानसिक सु-स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सार्वजनिक सरोकारका मुद्दामाथि सामाजिक सञ्जालमा आउने तत्कालीन प्रतिक्रिया मनोवैज्ञानिक रूपमा प्रभावकारी हुन सक्ने बताए।

उनका अनुसार कुनै मुद्दामा बहस वा फैसला भएपछि आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउन सक्छ। “एउटा फैसला वा बहसपछि राम्रो प्रतिक्रिया आयो भने आफूलाई असाध्यै सक्षम ठान्ने, नराम्रो प्रतिक्रिया आयो भने अत्यधिक नकारात्मक सोच विकास हुने अवस्था आउन सक्छ,” उनले भने।

न्यायाधीश पोखरेलले तत्काल आउने सामाजिक सञ्जाल र अनलाइन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने उल्लेख गर्दै संवेदनशील मुद्दामा संलग्न हुनेहरूले त्यस दिन सामाजिक सञ्जालबाट टाढा रहनु उपयुक्त हुने बताए।