काठमाडौं - प्रधानमन्त्री भएदेखि नै सार्वजनिक समारोहमा नदेखिएका प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसको समारोहलाई सम्बोधन गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्दै पत्राचार गरिएको छ । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।

राजतन्त्र अन्त्य भएपछि प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । 

संसद् बैठकमा समेत उपस्थित हुन छाडेका प्रधानमन्त्री शाह कुनै पनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न मन पराउँदैनन् भन्ने स्पष्ट भएको छ ।
विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसद बैठकमा उपस्थित हुन सभामुखलाई रुलिङ गराइयोस् भन्दा पनि प्रधानमन्त्रीले उपयुक्त समयमा आउँला भन्दै जवाफ फर्काएका छन् । प्रधानमन्त्रीको शैली र व्यवहारको राजनीतिक वृत्तमा चासो र चर्चा हुन थालेको छ ।