काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी वर्षको बजेट आउने बताउने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री वाग्लेले नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण रुपमा तालमेल रहेको भन्दै आगामी बजेट पनि त्यहि दिशामा हुने बताए ।

उनले निजी उद्यमीको आवरणमा बदमासी गर्नेहरुको बचाउ नगर्दिन विपक्षी सांसदहरुलाई आग्रह गरे । श्रमिक, किसान, भूमिहीन, सुकुम्वासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउने गरी सरकार प्रस्तुत हुने उनले बताए । गरिबीको खेती नै गर्ने एउटा ठूलो उद्योग रहेको भन्दै उनले त्यसले निरन्तरता नपाउने स्पष्ट पारे ।

मन्त्री वाग्लेले पुरानै शब्दजालको खोजी गर्नेहरुले सरकारको कार्यक्रममा नयाँ कुरा नभेटेको तर्क गरे । विद्रोहपछि धेरै कुरामा बदलाव भएको र बाचापत्रमा प्रस्तुत गरेका सय बुँदालाई जनताले अनुमोदन गरेको भन्दै उनले त्यसलाई विशेष ध्यान दिने उल्लेख गरे । उनले सरकारको कार्यक्रमलाई आफ्नै दस्तावेज बनाउन अर्को चुनाव कुर्न सुझाव दिए।