काठमाडौं - सुन्धारा कारागारबाट फरार कैदी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति ठमेलबाट पक्राउ गरेको हो।

फरार कैदीलाई लुकाउन सहयोग गरेको आरोपमा भोजपुर घर भई काठमाडौं बस्ने २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार सपना फरार भएपछि समीरकै असनस्थित कोठामा बसेकी थिइन्। फरार कैदीलाई आश्रय दिएको आरोपमा पक्राउ परेका समीरमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार सपना र समीर प्रेम सम्बन्धमा रहेका छन्। २५ वर्षीया सपना नुवाकोटको विदुर नगरपालिका–१३ स्पाङ काउलेकी हुन्। उनी शुक्रबार राति करिब १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। प्रहरीका अनुसार सपना १७ वर्षको उमेरदेखि चोरीका घटनामा पक्राउ पर्दै छुट्दै आएकी थिइन्। २०७७ सालमा रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको अपहरणपछि हत्या गरेको अभियोगमा अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो। बालिकाको शव पछि भिरमको ओडारमा फेला परेको थियो।