विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
विश्व सडक सुरक्षा सप्ताह–२०२६ कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आइतबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो। सडक सुरक्षा सप्ताहको समापन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक सुरक्षा भनेको केवल ट्राफिक नियम पालना गर्ने विषय मात्र नभएर मानव जिवन संरक्षण संग प्रत्यक्ष सम्बन्धित विषय भएको बताए ।
उनले सडक सुरक्षामा मानविय पक्षको ठुलो भुमिका हुने भन्दै नेपालमा सडक संजाल बिस्तार हुदै गएको र सवारीसाधनको संख्या तिव्र रुपमा बढी रहेको अवस्थामा सडक अनुशासन र सडक सुरक्षामा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए । वर्षयाममा सडकमा देखिने बाढीपहिरो जस्ता समस्यालाइ समाधान गर्न राज्यले काम अगाडि बढाइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महसंघका अध्यक्ष सरोज सिटौलाले सडक दुर्घटनाको न्यूनीकरणको विषयलाई प्राथमिकतामा राखेर काम गर्नपर्ने बताए । उनले कतिपय दुर्घटना चालकको लापर्बाहिले मात्र नभएर सडकका कारणले पनि हुने भएकाले सडक निर्माण गर्दा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यसतै प्रहरी अतिरिक्त महानिरिक्षक उमाकान्त चर्तूवेदीले प्रत्येक वर्ष २ हजार ८ सय देखि ३ हजार सम्म दुर्घटनाबाट मुत्यु हुने गरेको तथ्याकं रहेको भन्दै यस वियायमा सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा विशेषगरी हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, ओभरस्पिड नगर्ने, ट्राफिक सङ्केतको पालना गर्ने, पैदल यात्रुको सुरक्षामा ध्यान दिनुपर्नेलगायत विषयमा जोड दिइएको थियो । साँघुरा सडक, अव्यवस्थित पार्किङ, ट्राफिक नियम उल्लङ्घन तथा लापरवाहीका कारण सडक दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा विश्व सडक सुरक्षा सप्ताह कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


0 comment