काठमाडौं - सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको कस्मेटिक सामान, मन्जन (टुथपेष्ट) र ओखरसहित ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित भारतीय सीमा क्षेत्रमा गोप्य सूचनाको आधामा नं. ७ गण हेड क्वार्टर सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ जनाको गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्रले ट्रकसहित तस्करीमा संलग्न भएको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका– ५ का अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र सोही ठाउँका ३५ वर्षीय आनन्द यादवलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लुकाइछिपाइ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको सामान बोकेको ट्रकसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । ट्रकमा विभिन्न प्रकारका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका सामान फेला परेको बताइएको छ ।

बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मांडर बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।