काठमाडौं - संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठनमाथिको प्रतिबन्धविरुद्ध प्रतिरोध गर्ने घोषणा गर्दै ६२ औं विद्यार्थी दिवस मनाएको छ । विद्यार्थी दिवसका अवसरमा शुक्रबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसबाट प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पससम्म विरोध र्याली निकाल्दै संयुक्त विद्यार्थी संगठनले प्रतिबन्धविरुद्ध प्रतिरोध गर्ने घोषणा गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले सरकार तिम्रो बहादुरी लिपुलेकमा देखाउ, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर, विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विरोध र्यालीपछि आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले विद्यार्थीहरुको अधिकार कटौति गर्ने काम स्वीकार्य नहुने धारणा राखेका छन् ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मुलुकको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका अध्ययन गर्न सरकारलाई सुझाव दिए। विद्यार्थीहरुलाई बोल्न बन्देज लगाउन खोजिएको भन्दै यसबिरुद्ध सशक्त आवाज उठाउने उनले बताए । उनले बिगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै विद्यार्थी आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने समेत धारणा राखे ।