काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदको धारणा प्रत्यक्ष नसुने पनि जबाफ दिने क्रममा भने अनिवार्य उपस्थित हुनुपर्नेमा जोड दिएका हुन् । यदि प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद् बहिष्कार गर्ने चेतावनी उनले दिए ।
सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसद्को मर्यादा र संसदीय परम्पराविपरीत भएको उनको भनाइ थियो।
अध्यक्ष राईले देश विकास गर्न गफले मात्र नहुने भन्दै सरकार र सबै पक्षले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए । नीति तथा कार्यक्रममा सबै सांसदका सुझाव समेट्नुपर्नेमा एकलौटी ढङ्गले ल्याइएको उनले गुनासो पोखे ।


0 comment